आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

कम वर्षाले कम रोपाइँ, किसानलाई भोकमरीको चिन्ता

जसोतसो धानको बीउ त राखेका छौँ, पानी नपर्दा रोपाइँ गर्न सकेका छैनौँ, उम्रिएको बीउ फुल्न थालिसक्यो पानी पर्ने छाँटकाँट छैन ।”
प्रतिनिधिमुलक फाइल फोटो: वेब

– युवराज विष्ट, जनक श्रेष्ठ र विमल विष्ट (रासस)

भोजपुर । असार महीना बित्न लाग्दा भोजपुरमा ५८  प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ ।

यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ ।

धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष करीब एक हजार खेतीयोग्य जमीनमा कृषकले अन्य बाली लगाएको कार्यालयको भनाइ छ । बढ्दो वैदेशिक रोजगारीसँगै शहरकेन्द्रित बसाइँसराइ र अलैँचीलगायतका विभिन्न बालीतर्फ किसान आकर्षित भएका कारण खेतीयोग्य जमीन घट्दै गएको प्राविधिक भट्टराईको भनाइ छ ।  केही वर्षयता कृषक परम्परागत धान बालीको सट्टा बढी प्रतिफल दिने अलैँची, रुद्राक्ष, सुन्तलालगायतका बाली लगाउनेतर्फ आकर्षित हुन थालेका छन् ।

गत वर्ष भोजपुरमा ३२ हजार मेट्रिकटन धान उत्पादन भएको तथ्याङ्क छ । जिल्लाको ७००  हेक्टरमा हिउँदे र वर्षे धान हुने गर्दछ भने अन्य ठाउँमा वर्षे धान हुने गर्दछ । असार बित्न लागे पनि निरन्तर वर्षा नभएकाले गत वर्षको तुलनामा यो वर्ष कम मात्र रोपाइँ भएको कार्यालयको भनाइ छ । वर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष धानखेती कम हुनसक्ने कार्यालयले जनाएको छ । 

लमजुङमा १३ प्रतिशत रोपाइँ
लमजुङ– पहाडी जिल्ला लमजुङमा पर्याप्त पानी नहुँदा १३ प्रतिशत मात्रै रोपाइँ भएको छ । खोलाको किनार र केही सिँचाइ भएको भेगबाहेक अन्य स्थानमा रोपाइँ हुन नसक्दा १३ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

गत वर्ष यस अवधिमा करीब ३० प्रतिशत धान रोपाइँ भइसकेको भए पनि यस वर्ष समयमा पर्याप्त पानी नभएको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । बेँसीशहर नगरपालिका–२ की किसान पार्वती खत्रीले भने, “गत वर्ष खहरेफाँटमा असारको १२ गतेभित्रै सबै रोपाइँ सकिन्थ्यो, तर अहिले असार सकिन लाग्दासमेत पानी राम्रोसँग नभएकाले रोपाइँ सकिएको छैन ।”

यस फाँटमा गाउँका सबैको गरेर करीब ५०० रोपनीमा धानखेती गरिन्छ । अहिलेसम्म १० प्रतिशत मात्रै रोपाइँ भएको उहाँको भनाइ छ । सोही वडाका किसान नारायण खड्काले भने, “हाम्रो यो कटरेफाँटमा पानीको अभावमा रोपाइँ राम्रोसँग गर्न सकिएको छैन ।” खहरेखोलाबाट कुलो बनाएर पानी ल्याइएको र पानीको कुलो कहिले बिग्रिने कहिले पानी कम हुने हुँदा रोपाइँ ढिलो मात्रै भएन समस्यासमेत भएको उनको भनाइ छ । उनीहरुको जस्तै जिल्लाका अधिकांश किसानको समस्या र भनाइ उस्तै छ ।

केही–केही भागमा जेठको अन्तिमबाट रोपाइँ शुरु गरे पनि अधिकांश भागमा रोपाइँ हुननसकेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले भने । उनले भने, “समयमा पानी नपर्दा गत वर्षको तुलनामा धानसमेत घट्ने सम्भावना छ ।”

यहाँका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबूढो, एक्ले सुख्या २, सावित्री, लोकतन्त्रलगायतका उन्नतजातको धानका बीउ किसानले लगाउँदै आएको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार किसानहरूले  लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतका हाइब्रिड जातको धान लगाउँदै आएका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर खेतीयोग्य जमीन रहे पनि १५ हजार हेक्टर क्षेक्रफलमा मात्रै धानखेती हुँदै आएको छ । रामधान, लोकतन्त्र, सुक्खा २ जिल्लाका किसानले बढी लगाउने गरेका छन् ।

जिल्लाका ठूला फाँटका रूपमा रहेका अलैंचेफाँट, अल्काटार, साइलीटार धमिलीकुवा, भलाखर्क, राइनासटार, रामचोकबेँसी, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सुन्दरबजार, परेवाडाँडा, सत्रसयफाँटलगायतका ठाउँमा बढी धान उत्पादन हुँदै आएको छ । गत वर्ष जिल्लामा १४ हजार ४९१ हेक्टर क्षेत्रफल जमीनमा गरिएको धानखेतीबाट ४० हजार ५०० मेट्रिकटन धान उत्पादन भएको थियो । 

खेत बाँझै
डोटी– जिल्लाको दिपायल, पिपल्ला तथा आसपासका क्षेत्रमा लामो समयदेखि पर्याप्त मात्रामा वर्षा नहुँदा किसानका खेतहरु बाँझै छन् । अहिलेसम्म पनि रोपाइँ नहुँदा यो वर्ष धान उत्पादनमा कमी हुने तथा किसानलाई भोकमरी हुने चिन्ता बढेको छ ।

पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा धान रोपाइँ त परै जाओस् धानको बीउसमेत राख्न नसकिएको दिपायलका स्थानीयवासी कलक खड्काले बताए । उनले भने, “असार सकिन लागिसक्यो, हामीले पानी नहुँदा बीउसमेत राख्न पाएका छैनौँ, कहिले पानी आउला र बीउ राखेर धान रोपौँला ।” जिल्लाका ग्रामीण क्षेत्रमा रोपिएको धान तथा लगाइएको मकैबाली लामो खडेरीका कारण सुकेका छन् । बाली सुक्न थालेपछि किसान निरास छन् ।

असारको २३ गतेसम्म जिल्लामा जम्मा ३० प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र डोटीका प्रमुख किसनसिंह थापाले बताए । उनले भने, “अहिलेसम्म कम्तीमा पनि ५० प्रतिशत रोपाइँ सकिनुपर्ने हो तर पानी नपर्दा रोपाइँ हुन सकेन, उत्पादन कमी हुने निश्चित छ ।” शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आर्दश गाउँपालिकालगायतका विभिन्न स्थानीय तहका  अधिकांश वडाका खेतमा रोपाइँ हुन नसक्दा धेरै खेत बाँझै रहेको छ । 

कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीउ पनि पानी नहुँदा मर्न थालेको तथा केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेको शिखर नगरपालिका–१ का स्थानीयवासी लोकबहादुर बलायरले बताए । उनले भने, “खोलाको पानीको भरमा धानको बीउसम्म राख्न सकेका छौँ तर रोपाइँ कसरी गर्ने चिन्तामा परेका छौँ ।”

कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । छिटफुटरूपमा जिल्लामा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । दिपायल सिलगढी नगर गाउँपालिका–४ गैराका ४५ वर्षीय वीरभान कामीले कुुलोमा पानी नआउँदा बीउसमेत राख्न नसकेको दुखेसो पोखे । उनले भने, “केहीले पानी आउला र बीउ राखौँला भनेर बसेका छौँ, पानी नपरे बीउ नराखेरै खेत बाँझै पर्ने भए ।’’ उहाँले असार महीना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यसपटक धान उत्पादन राम्रो नहुने निश्चित भएको बताए ।

त्यसैगरी, जिल्लाकै अर्को शिखर नगरपालिका–१ सेरीका ४१ वर्षीय कमल ऐरले जसोतसो बीउ राखे पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताउनुभयो । उनले भने, “जसोतसो धानको बीउ त राखेका छौँ, पानी नपर्दा रोपाइँ गर्न सकेका छैनौँ, उम्रिएको बीउ फुल्न थालिसक्यो पानी पर्ने छाँटकाँट छैन ।”

जिल्लाका अन्य स्थानीय तहहरु बडीकेदार, बोगटान, जोरायल, सायल, पूर्वीचौकी, आर्दश, केआईसिंहलगायतका गाउँपालिकामा रोपाइँ भए पनि पानी नपर्दा रोपो सुक्दै जान थालेको स्थानीयवासी बताउँछन् । सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुनसकेको छैन । जिल्लामा सबैभन्दा बढी जमीनमा सिँचाइ कुलो नहुँदा आकाशे खेतीको भरमा रोपाइँ गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार डोटीमा कूल १० हजार ६६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष डोटीमा २२ हजार ४४४ मेट्रिकटन धान फलेको थियो । अघिल्लो वर्ष जिल्लामा २।१४ टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा