बुधबार, १२ बैशाख, २०७५ Wednesday, 25 April, 2018

रासायनिक आक्रमणबाट घाइते रुसका पूर्व गुप्तचरकी छोरी घर फिर्ता

३३ वर्षीया छोरीलाई अस्पतालबाट घर पठाइए पनि उनका ६६ वर्षीय बुबा सेर्गेइलाई भने अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने
फोटो: फाइल | वेब

लण्डन, २७ चैत । रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता भएकी छन् । 

घाइते हुनेबित्तिकै अस्पताल भर्ना गरिएकी उनको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि घर फिर्ता गरिएको अस्पतालका अधिकारीहरुले जनाएका छन् । 

उनीसहित उनको बुबा सेर्गेइ स्कृपाललाई गत महिना मार्च ४ तारिखका दिन सलिस्बुरीमा रासायनिक आक्रमण भएको थियो । 

बिबिसीले लेखेको समाचारअनुसार ३३ वर्षीया छोरीलाई अस्पतालबाट घर पठाइए पनि उनका ६६ वर्षीय बुबा सेर्गेइलाई भने अझै केही दिन अस्पतालमै राखेर उपचार गरिनेभएको छ । 

घटनाको अनुसन्धान गरिरहेको मेट्रोपोलिसले भने यस विषयमा केही प्रतिक्रिया नदिएको समाचारमा जनाइएको छ । 

यसअघि गत हप्ता युलियाको तर्फबाट जारी गरिएको विज्ञप्तिमा आफ्नो स्वास्थ्यमा सुधार आइरहेको र त्यसले आफूलाई खुशी बनाएको उल्लेख गरिएको थियो । उनले आफू एक हप्ताअघि मात्र होसमा आएको विज्ञप्तिमा उल्लेख गरेका थिए । 

रासायनिक पदार्थ प्रयोग गरी आक्रमण गरिएको उक्त घटनाले अन्तर्राष्ट्रिय कूटनीतिक संकट निम्त्याएको छ । 

उनीहरुमाथि भएको आक्रमणमा रुस जिम्मेवार रहेको बेलायतले आरोप लगाएपछि कूटनीतिक संकट फैलिएको हो । रुसले भने बेलायतको आरोपको पटक पटक खण्डन गर्दै आइरहेको छ । 

यही आरोप प्रत्यारोपका बीचमा रुसका कैयौँ कूटनीतिज्ञहरु विभिन्न देशबाट निकालिएका छन् भने रुसले पनि विभिन्न देशका कूटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गरेको छ । रासस | एएफपी 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा