सोमबार, ५ कार्तिक, २०७५ Monday, 22 October, 2018

भरतपुर महानगरपालिका र चिनियाँ विश्वविद्यालयबीच ५० विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता

गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति
भरतपुर महानगरपालिकामा मंगलबार शैक्षिक सहकार्य सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल र चीनको सेन्ट्रल साउथ विश्वविद्यालयका डिन प्रोफेसर थाङ सियुआन । तस्वीर : नारायण अधिकारी | रासस

चितवन, २७ चैत । भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । 

स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । 

सोसम्बन्धी सम्झौतामा महानगरपालिकाका तर्फबाट महानगर प्रमुख रेणु दाहाल र विश्वविद्यालयका तर्फबाट सियाङ्या नर्सिङ स्कुलका डिन प्रा थाङ सियुआनले हस्ताक्षर गरेका छन् । महानगरपालिकाका तर्फबाट डा विश्वास श्रेष्ठले सम्झौताका लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए । सम्झौताबाट दुई देशबीच सामाजिक र सांस्कृतिक ज्ञान आदानप्रदानका साथै जेहेन्दार विद्यार्थीलाई विशेष अवसर सिर्जना गर्ने र आफूले उच्चशिक्षा हासिल गरेका जनशक्ति प्राप्त गर्ने विश्वास महानगरपालिकाले लिएको छ । -रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा