बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

साइप्रसमा नेपाली महिलासहित सात जनाको हत्या गर्ने पूर्वसैनिकलाई सातवटा जन्मकैद

स्थानीय सञ्चारमाध्यमका अनुसार नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ ।  ३० वर्षीया अस्मिताको गत वर्ष हत्या भएको थियो ।

 

साइप्रस । एक नेपाली महिलासहित पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ ।

ग्रिसेली मूलका साइप्रसका ३५ वर्षीय निकोस मेटाक्सासलाई अदालतले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोगमा दोषि ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ ।  ३० वर्षीया अस्मिताको गत वर्ष हत्या भएको थियो । उनी घरायसी कामदारका रूपमा साइप्रस गएकी थिइन् । उनलाई काम उपलब्ध गराएको एजेन्सीले बिष्टले काम छोडेको जानकारी अध्यागमन विभागलाई गराएको विवरण केन्यूजले प्रकाशित गरेको थियो । उनी कसरी हराइनन् भन्ने स्पष्ट नभए पनि परिवारलाई उद्धृत गर्दै उनले आफू स्वदेश फर्किन लागेको बताएको केन्यूको समाचारमा उल्लेख छ ।

मेटाक्सास पक्राउ परिसकेपछि उनले अनुसन्धानका क्रममा आफूले एक नेपाली वा भारतीय महिलालाई पनि मारेको बताएका थिए । गत एप्रिल २५ मा सेनाले तारो हान्ने अभ्यास गर्ने एउटा दुर्गम स्थानमा अस्थिपञ्जर र अन्य अवशेष फेला पा‍रेको थियो । सो अवशेष बिष्टको भएको बताइएको छ ।

बीबीसीका अनुसार ती घटनाहरू सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्म भएका थिए । उनले हत्या गरेका दुई बच्चा ६ देखि आठ वर्षका थिए । उनलाई सन् २०१८ को जुलाई‌मा अन्तिम पटक जुलाईमा देखिएको बताइएको छ । त्यतिबेला उनलाई निकोसियामा एउटा सेतो कारमा चढेको देखिएको थियो । उनी सेनामा क्याप्टेन थिए ।
अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको हो । फैसलामा सेनाका पूर्वक्याप्टेनलाई २५ वर्षका सातवटा (१७५ वर्ष) कारावासको सजाय सुनाइएको थियो ।

तीन न्यायाधीशको संयुक्त इजलासले मेटाक्साले प्रतिरक्षा गर्न नसक्ने कमजोर महिलाहरूको हत्याको अभियान चलाएको बताएका थिए । साइप्रसमा आजीवन कारावास २५ वर्ष लामो हुन्छ । सातवटा आजीवन कारावासमध्ये पाँचवटा छुट्टाछुट्टै हुने र दुईवटा सँगसँगै खापिने अदालतको आदेश छ ।

यो निर्णयविरुद्ध उनले पुनरावेदन नगर्ने ठानिएको छ । उनले हत्या गरेका महिलामध्ये तीन जना फिलिपिन्सका, एक जना नेपाली र एकजना रोमानियाका नागरिक हुन् । उनीहरूमध्ये अधिकांश साइप्रसमा घरायासी कामदारका रूपमा कार्यरत थिए ।

अदालतमा आँसु निकाल्दै मेक्टासले उनले पीडितका परिवारसँग माफी मागेका थिए । आफूले किन त्यस्तो ‘घृणित अपराध’ गरेँ भन्ने आफूलाई नै थाहा नभएको उनको भनाइ थियो । बीबीसी नेपालीको सहयोगमा


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा