मंगलबार, ३१ असार, २०७६ Tuesday, 16 July, 2019

थुलुङ गाँउपालिका बजेट: ३९ करोडमा १३ प्राथमिकता सहित ५६ आयोजना

 जुबु र लोखिम जोड्न दुधकोशीमा मोटेरेबल पुल बन्ने
थुलुङ दुधकोसी गाँउपालिकाक अध्यक्ष असिम राई। तस्विर : असिम राई / फेसबुक 

 

सोलुखुम्बु । थुलुङ दुधकोसी गाँउपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि  ३८ करोड ६३ लाख ७७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।  

गाउँपालिकाका अध्यक्ष असिम राईको अनुसार "सबै वडाहरुलाई भूगोल, जनसंख्या, चालु आर्थिक बर्षको राजस्व परिचालन तथा योजना कार्यन्वयन क्षमताका आधारमा वैज्ञानिक विधि प्रयोग गरि वडागत सीमा समेत निर्धारण गरिएको छ"।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बसेर  नयाँ आर्थिक वर्षको बजेट ल्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष राईको जानकारी दिए ।

यो आर्थिक वर्षको बजेटमा गाउँपालिका केन्द्र मुक्ली र दुधकोशी पारी रहेका वडा-९ लोखिम र जुबु-४, जुबु-५  गाउँलाई जोडन दुधकोशीमा मोटरेबल पुल निर्माणलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको  छ । 

थुलुङ दुधकोसीभित्र ग्रामिण विधुतिकरणको लागि दश करोड बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको नेले–तुम्से–काङ्गेल, वात्तिम, जुबु खनियाखर्क हुँदै एसेलुखर्क जोडने सडकका लागि पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ भने नेले चारघरे, गाउँपालिका केन्द्र मुक्ली हुँदै बर्खुघाट सडकका लागि दुई करोड रुपैयाँ र गैह्री, विहिबारे, च्युर्पुघाट, पन्चन सेसेल्मु सीम, काङ्गेल मुक्ली देउसा सडकका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै च्युर्पुघाट मोटेरेबल पुल, थुलुङ दुधकोशी गाउँपालिका तीन वर्षे सिभिल इन्जिनियरिङ अध्ययनका लागि चालिस लाख रुपैयाँ अनुदान दिने गरी गाउँपालिकाले बजेट व्यवस्थापन गरेको छ । 

गाउँपालिकाको बजेटले बर्खुखोला महाभिर सिँचाई उपयोजनाका लागि एक करोड, सार्कुखोला सिँचाईका लागि पच्चीस लाख रुपैयाँ, मुक्ली खानेपानी गुणस्तर सुधारका लागि एक करोड रुपैयाँ, भरंयाङ खोला (जुबु) लाई दुई करोड रुपैयाँ , कांगेल-२ खानेपानी आयोजनाका लागि साठी लाख र देउसा खानेपानी आयोजनाका लागि पाँच  लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाको विकास बजेट छुट्याउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै प्रदेश-१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अध्यक्ष राईले धन्यवाद दिएका छन्। 

गाउँपालिकाको प्रथामिकतामा रहेको १३ ठुला आयोजना बाहेक अन्य ४३ वटा साना ठूला आयोजनाहरु सिंचाई , खानेपानी, पहिरो रोकथाम लगायत बजेट परेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा