आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

‘भिल्लका देशमा मणि’जस्तै ओखरबोटको तामाखानी

''यो तामाखानीमा २०४२ सालसम्म दैनिक २०० भन्दा बढी कामदारले काम गर्नाका साथै प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निस्कने गरेको थियाे ।''
फाइल फाेटाे : वेब

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको नेपालकै उत्कृष्ट तामाखानी सञ्चालनमा आउन सकेको छैन । 

तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौंको वार्षिक आम्दानी गुमाएको छ भने जनता बेरोजगारीका कारण विदेशिन बाध्य भएका छन् । २०१८ सालदेखि २०४२ सम्म नियमित सञ्चालनमा रहेको र त्यसपछि सरकारको निर्देशनका कारण बन्द रहेको तामाखानी अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीय सरकार र जनताका लागि तामाखानी ‘भिल्लाका देशमा मणि जस्तै भएको छ ।

यो तामाखानीमा २०४२ सालसम्म दैनिक २०० भन्दा बढी कामदारले काम गर्नाका साथै प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निस्कने गरेको तत्कालीन प्रधानपञ्च एवम् हाल मालिका गाउँपालिका–४ का वडाध्यक्ष दिलीपकुमार शेरचनले जानकारी दिए । त्यतिबेला यहाँको खानीबाट निकालिएको तामा प्रतिधार्नी रु १५० मा बिक्री हुने गरेको उनले बताए ।

तत्कालीन अवस्थामा तामाखानीका ठेकेदारसमेत रहनुभएका वडाध्यक्ष शेरचनका अनुसार सो तामाखानीमा २०२६ सालमा भारतको विडला कम्पनीबाट प्राविधिकहरु झिकाई खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन पनि हुनसक्ने बताएका थिए । त्यसको ४ वर्षपछि तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित २०३० साल मङ्सिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आउनुभएको र खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आदेश दिएको थियो । 

त्यसपछि २०४२ सालसम्म नियमित सञ्चालन भएको सो तामाखानी विसं २०४२ मा सरकारले कर वृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी बन्द गर्नुपरेको थियो । त्यतिबेला अहिलेका वडाध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी सञ्चालन गर्ने ठेक्का लिनुभएको ओखरबाटका ८३ वर्षीय दिलप्रसाद घर्ती मगरले जानकारी दिए ।

घर्ती मगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्बाइ २५० देखि ३०० मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्न सकिने घर्ती मगरले जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिशसहित पाँच पटकसम्म काठमाडौंस्थित खानी विभागमा गई खानी सञ्चालनका लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको बताए । “खानी सञ्चालनका लागि मैले धेरै प्रयास गरेँ”, अध्यक्ष शेरचनले भने, “तर सरकारले खानी सञ्चालनको अनुमति दिएन ।

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेण्डा बनाए । गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहुँदा स्थानीयवासी निराश भएका छन् । ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा दुई वटा तामाखानी रहेका छन् । दुईवटा खानीको करीब दुई किलोमिटरको सुरुङ खनेर २०४२ सालसम्म नियमित सञ्चालन गरिए पनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावका कारण बन्द भएको तामाखानीका बारेमा एक वर्षयता धेरै बोले पनि काम नभएको स्थानीयवासी जगदीश रसाइलीले गुनासो गरे ।

खानी उत्खननका क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । यता मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताए । खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानून बनाउनुपर्ने सुझाव अध्यक्ष रोकाको छ । रासस 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा