आइतबार, ६ श्रावण, २०७५ Sunday, 22 July, 2018

२१औं शताव्दीमा सङ्घीय गणतन्त्र नेपालको शिक्षा मार्गचित्र

सालै पिच्छे लाखौँ लाख नेपाली श्रमशक्ति क्षमता बाहिरिने क्रम रोकिन्छ र युवा शक्तिलाई देशविकास कार्यमा लगाउँन सकिन्छ
प्रतिनिधिमुलक फाइल फोटो | वेव

निशन्देह! “यदि”, “तर” र “र” को सर्तबिना यो पुष्टि भएको छ, शिक्षा जीवन निर्माणको मूल आधार हो । शिक्षाको अभावमा कुनै पनि ब्यक्तिले जीवनलाई सहि दिशानिर्देश गर्न सक्दैन । शिक्षाले मानवलाई अग्रगामी बाटोमा लैजान्छ । मानवमा भएको दुर्गुण र नकारात्मक बिचारलाई हटाई सकारात्मक बिचारको बिकास गराउछ । शिक्षाको बिकासले मात्र देशको विकास सम्भव छ।शिक्षा जीवन हो, ज्ञान हो अनि यात्राको एक पाटो हो। शिक्षामा जीवन हुन्छ, ज्ञानका उज्याला र चम्किला भावना अनि प्रस्फुटित हुन नसकेका अन्तरमनका क्रन्दन हुन्छ । त्यस्ता ज्ञान र चेतना कुण्ठित भएर रहन्छ तब शिक्षाले त्यसको भण्डाफोर गरिदिन्छ र प्रत्यक मानिसलाई अँध्यारो संसारबाट उज्यालो बाटोमा लैजान मध्दत गर्दछ । कुनै ब्यक्तिले विशेष बिषयमा प्राप्त गरेको ज्ञानको भण्डार र बुझ्ने क्षमताको बिकास चेतनालाइ नै शिक्षा भनिन्छ । देशमा आमूल परिवर्तन ल्याउनका लागि शिक्षा नीतिमा आमूल परिवर्तन हुनुपर्दछ ।

 नेपालको शैक्षिक ईतिहास कोट्याएर हेर्ने हो भने गुरूकुलकालीन शिक्षादेखि आजको मन्टेश्वरी शिक्षा प्रणालीसम्म बुझ्नुपर्ने हुन्छ । ती सबैलाइ यो एउटा लेखमा समेट्न सकिँदैन । गुरूकुल प्रणालीमा ऋषिमुनि र धर्माधिकारीहरूको प्रत्यक्ष निगरानीमा नैतिक र धार्मिक आस्थालाइ मूख्य आधार बनाइ मठ, मन्दिर, चैत्य, गुम्बा, मदरसा, मस्जिद र चर्चहरूमा धर्मग्रन्थमा आधारित भई कडा अनुशासनको दायराभित्र रहेर शिक्षा लिनेदिने कार्य हुन्थ्यो । नेपालमा वैदिक परम्परा अनुसार राजामहाराजा र संभ्रान्त परिवारका बालबच्चाहरूले गुरूकुलमा शिक्षा लिन्थे । उचनीच ठूलोसानो बीच खाडल हुन्थ्यो । गुरूकुल शिक्षा पछि पाठशालामुखी शिक्षा शुरू भयो।बिद्यालयमा गएर सरकारले निर्धारण गरेको शिक्षा नीतिमा रही तोकिएको पाठ्यक्रम अनुसार नियुक्त गरेको शिक्षकद्वारा शिक्षा दिइन्थ्यो । नेपालमा शिक्षाका तीन चरणहरूरहेको पाइएको छ ।

१. दमनपूर्ण कालो  युगको चरण(१९१० देखि २००७ सम्मः) यो युगमा श्री ३ जंग बहादुर राणा बेलायत भ्रमणका बेला बेलायतमा देखेको शिक्षा गतिबिधिबाट प्रभाबित भएर आफ्नो दरसन्तान र आसेपासेहरूलाइ मात्र शिक्षा दिने हेतुले दरवार हाइ स्कुल स्थापना गरि शिक्षा दिन शुरू गरिएको भएपनि सर्बसाधारणलाइ  पढ्न लेख्न बन्चित गरिएको थियो । यदि कुनैपनि सर्बसाधारणले पढ्न लेख्न त के इच्छा जाहेर गर्दा मात्रै पनि हात काटिन्थे जिब्रो थुतिन्थे, ज्यान लिइन्थे । तसर्थ यस युगलाई कालो युगले पनि चिनियो ।

२. प्रारम्भिक युग (२००७ देखि २०२८ सम्मः) जहाँ दमन हुन्छ, त्यँहा बिरोध हुन्छ, जहाँ बिरोध हुन्छ, त्यँहा विस्फोट हुन्छ भने झै राणाशासकहरूको दमनकारी नीतिले नेपाली जनताहरू राणाहरूको बिरूध्द एकजुट भइ क्रान्ति गरे । फलस्वरूप नेपालमा प्रजातन्त्रको उदय भयो । एकतन्त्रीय राणाशाही ढल्यो । प्रजातान्त्रिक सरकार गठनपश्चात मुलुकको विभिन्न ठाउँहरूमा बिस्तारै पाठशालाहरू खोलिन थाले र सर्बसाधारणहरूका बालबालिकाहरूले पनि शिक्षा पाउने वातावरण सृजना हुन थाल्यो नयाँ युगको सु?वात भयो। २०२८ सालदेखि नया शिक्षा योजना लागू भई शिक्षामा केही परिवर्तनका लहरहरू देखिन थाले । यो चरणमा शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आयो । शैक्षिक छलाङ्ग मार्यो । जनताहरू शिक्षित हुन थाले । देशमा बिकासको किरण देख्न शुरू भयो ।

३. आचारणमा स्तुतीबादी र दलाल शिक्षाको युग (२०२८ देखि हालसम्म) राणा शासन अन्त्य भए पनि नोकरशाही सामन्तबादी दलाल पूजीबादी प्रणालीको अबशेष बाँकी नै थियो जसलाई तानाशाही पंचायती ब्यबस्थाको मतियारहरूको घेराबन्दी भित्र शाही सरकारले नेतृत्व गरिरहेको थियो । जुनबेला पंचायती शासन ब्यबस्थाले राजा महाराजा ठूलाठालुह?को स्तुतीगान गाउनुपर्ने, दलालहरूको मुठीमा बस्नुपर्ने, दासप्रवृतिको बिकास हुने खालको शिक्षा नीति तय भयो । देशमा गणतन्त्र स्थापना भइसक्दापनि शिक्षामा तात्विक भिन्नता छैन । पंचायतकालीन शिक्षा प्रणाली र संस्कारको अबशेष अझै जिउका तिउ बाँकी नै छ । शिक्षा सर्बसाधारणहरूका लागि होइनकि दलाल पूजिपति, भ्रष्ट नेता नाफाखोरी व्यापारी, घुसखोरी कर्मचारीहरूको पक्षपोषण गर्ने शिक्षाको रूपमा बिकास भयो । शिक्षामा ब्यापारीकरण सर्बसाधारणले लिन नसक्ने खालको शिक्षा हुन पुग्यो । “ सबैको लागि शिक्षा” भन्ने नारा केवल सिद्धान्तमा, गोष्ठी सेमिनार, कार्यक्रम योजना र भाषणमा मात्र सीमित हुन पुग्यो। पंचहरूको कब्जामा रहेको शिक्षा नीतिमा सर्बसाधारणहरूको लागि शिक्षा पहुँच भन्दा बाहिरको कुरा भयो । तानाशाही राजतन्त्रको स्तुति गान गाउनुपर्ने हरेक कृयाकलाप राजतनोत्रको वरिपरि घुमिरहेको थियो । पंचायती ब्यबस्थाको खम्बाको रूपमा शिक्षालाइ बिकास गरिएको थियो।

                                                         शिक्षा मन्त्रालय नेपाल, काठमान्डौ ।

शिक्षामा व्यापक विभेद र शिक्षा हुने खाने र पूजीपति धनिमानीहरूको मात्र हुन पुग्यो । शिक्षामा ब्यापारीकरण हुनुका साथै शिक्षा पूजीपति उद्योगपति र  ब्यापारीहरूको कब्जामा पर्न गयो । शिक्षामा नीजिकरणको नीतिले बलियो जरा गाडी सर्बसाधारण सबैको लागि हुनुपर्ने सरकारी बिद्यालयहरू समेत भ्रष्ट नेता घुसखोरी कर्मचारी र राजनीतिक दलालहरूको चरिखाने खेलीखाने थलो बन्न पुग्यो । शिक्षामा छुट्याइएका रकमहरूको उचित प्रयोग नभइ उपलब्धीहीन लगानी मात्र भयो । सरकारी बिद्यालयहरू राजनीतिक दलहरूको कार्यकर्ता भर्तिकेन्द्र हुन पुग्यो । हिज खान नपाएका मानछेहरू राजनैतिक दलकहरूको संरक्षणमा आज करोडौ करोड खर्च गर्न सक्ने हैसियत राख्दछन । शिक्षकहरू पढाउनेबेला राजनैतिक दलका नेताहरूको झोला बोक्ने चाप्लुसी गर्ने धुपौरे बन्ने राजनीति गर्ने नपढाई शक्तिको आडमा तलब खाने अनि हरेक साल पढाइको स्तर खस्कदै गएपछि बाध्य भएर अभिभाबकहरू आफ्नो सन्तानको भबिष्य निर्माण गर्न शिक्षा दिक्षाको लागि महंगो शुल्क तिरेर भएपनि नीजि बिद्यालयमा छोराछोरी पठाउनु पर्ने  स्थिति भयो । अझसम्म पनि शिक्षामा विभेद कायमै छ ।  नीजि बिद्यालयमा पनि ठूला पूजिपति, उद्योगपति, व्यापारी, भ्रष्ट नेताहरू, कमिशनखोरहरू र घुसखोरी कर्मचारीहरूद्वारा संचालित विद्यालयहरूलाई सरकारले नै संरक्षण गरिरहेको अवस्था छ । साना तिना लगानी गरेर आफ्नै क्षमाता बुताले खोलिएका  स्वरोजगार सृजना गर्ने उदेश्यले खोलिएका सामान्य व्याक्तिहरूबाट संचालित विद्यालयहरूलाई भने सरकारले कडाई गरी जबरजस्ति बिना क्षतिपूर्ति बन्द गराउँने नीति अबलम्बन गरिरहेको अवस्था छ । साँच्चै नै निजी विद्यालय बन्द गराउने नै हो भने राजनैतिक, संरक्षणमा रहेको पुँजीपति भ्रष्ट, कालाबजारी, कमिसनखोर, चाकारीबाज गर्ने, विदेशी दलालहरूले संचालन गरेका विद्यालयहरू बन्द गर्न सक्नुपर्दछ र सामुदायिक विद्यालयलाई राम्ररी संचालन गर्न सक्नु पर्दछ । अनि मात्र निजी विद्यालयहरूलाई उचित क्षतिपूर्ति दिएर बन्द गराउँन सक्छ सरकारले । समुदायिक विद्यालयमा सुधार ल्याएर निजी विद्यालयले दिने गुणस्तरिय शिक्षा सामुदयिक विद्यालयले दिने हो भने निजी विद्यालय बन्द गर्नु नै पर्दैन आफै बन्द हुन्छ । तर सरकारी विद्यालयमा सुधार नल्याई निजी विद्यालय बन्द गर्न असम्भव छ ।

नेपालको विद्यालय र विद्यालयमा दिइने शिक्षा सुधार गर्ने कुरा केवल नारामा मात्र सिमित राखेर हुँदैन । गरिबीका रेखामुनी पिल्सिएका नेपाली जनताले महसुस गर्ने गरी व्यवहारमा नउतारेसम्म शिक्षामा बिकास हुँदैन । नेपालका हरेक राजनीतिक दल र तिनका भातृ संगठनहरूले शिक्षामा सुधार ल्याउने चर्का नारा दिन कहिल्यै छाड्दैनन् । नेपाल सरकारले शिक्षामा सुधार गर्न भनि विभिन्न कार्यक्रम, सभा गोष्ठी, तालिम, परामर्श योजना भनेर लाखौँ करोडौँ खर्च गर्छ तर नतिजा सून्य देखिन्छ । सरकारले शिक्षालाई कसरी मितव्ययी, परिणाममूखी बनाउँने भन्ने तर्फ कहिल्यै योजना ल्याउन सकेन । सरकारले आफ्नै देश काल परिस्थिती अनुरूप आफ्नै देशका विज्ञहरूको खोज अनुसन्धान र बौद्धिकतालाई प्रयोग गरि शिक्षा नीति बनाउँनुको सट्टा अनुदान प्राप्त गर्ने नाममा वा आर्थिक सहायताको नाममा अन्य देशमा असफल भइसकेको शिक्षा नीतिलाई नेपालमा स्वागत गर्ने प्रचलनले पनि हाम्रो देश आफ्नो खुट्टामा उभिन सक्ने अवस्थामा छैन । अरूको बुद्धि , अरूको नीति योजना, अनुसन्धान र लगानीमा नेपालले कहिल्यै पनि फाइदा लिन सक्दैन । फाइदा दातृ राष्ट्रलाई नै हुन्छ । आत्मनिर्भरता होइन परनिरर्भरता हुने खालको शिक्षा र जनशक्ति तयार हुन्छ । र हाम्रो देशमा उत्पादित शैक्षिक जनशक्तिहरू नेपालमा होइन अन्य देशमा मात्र ठिक हुने जनशक्ति तयार हुन्छ । यसर्थ देश विकासका लागि नेपालकै शिक्षाविद बौद्धिक व्यक्तित्व र विज्ञहरूले देश र जनताको आवश्यकता पुरा गर्ने खालको व्यवहारिक शिक्षा नीति विकाश गर्नु पर्ने हुन्छ । उच्च शिक्षा हाँसिल गरिसकेपछि नेपाल भित्रै जुनसुकै ठाँउमा पनि आफ्नो क्षमता अनुसार काम गर्न सक्ने वातावरण बनाइदिने काम नेपालको शिक्षा नीतिले समेट्न सक्नुपर्छ जसले गर्दा सालै पिच्छे लाखौँ लाख नेपाली श्रमशक्ति क्षमता बाहिरिने क्रम रोकिन्छ र युवा शक्तिलाई देशविकास कार्यमा लगाउँन सकिन्छ । वर्तमान अवस्थाको शिक्षा नीतिले विदेशी भूमिमा ज्यामी काम गर्न लायकको जनशक्तिमात्र उत्पादन गरेको छ भन्दा कुनै अतियुक्ति नहोला ।

शिक्षामा सुधारका लागि ध्यान दिनुपर्ने केहि कुराहरू

१. असल मानव बन्नका लागि उचित वातावरण, उचित समय, उचित तरिका उचित अवसर प्रदान गर्ने शिक्षा नीति हुनु पर्ने । अनुशासित कर्मठ मेहेनती , सकरात्मक सोँच भएको व्यक्ति असल मानव हो । असल मानव बन्नका लागि उचित वातावरण समय, तरिका र अवसरको आवश्यकता पर्दछ र यो शिक्षा नीतिले निर्धारण गरि पाठ्यक्रम बिकास गर्न पर्ने हुन्छ ।

२. सुनाई , बोलाई , पढाई र लेखाई सीप बिकास गर्ने , उमेर, इच्छा, क्षमता र बुद्धिको आधारमा केन्द्रित बालमैत्री पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक तयार पारी बालबालिकाको बौद्धिक अध्यात्मिक, नैतिक, सामाजिक, पारिवारिक गतिविधी विकास गरी आफ्नै खुट्टामा उभिन सक्ने शिक्षा नीति हुनुपर्नेछ ।

३. लैङ्गिक, सामाजिक, आर्थिक, जातीय, वर्गीय, क्षत्रीय , धार्मिक तथा सबै खाले विभेद नभएको विभेद रहित शिक्षानीतिको विकास र लवलम्वन गर्नु पर्नेछ ।

४. असल शिक्षक जसले गुणस्तरीय शिक्षा दिन सक्ने्, कक्षा कोठामा उचित व्यवस्थापन गर्न सक्ने, उदेश्य निर्धारण गरेको पाठयोजना अनुसार निरन्तर पढाउँने , विषय वस्तुमा पोख्त, सकरात्मक सोँच सहित स्वस्थ प्रतिस्पर्धा गराउँन सक्ने, नियन्त्रित तर रमाईलो कक्षाको व्यवस्था गर्नसक्ने तालिम प्राप्त शिक्षक सरकारले हरेक विद्यालयमा राजनीतिबाट टाढा रहेर नियुक्ति गर्नु पर्नेछ ।

५. विद्यार्थीहरूले अनुसरण गर्न लायकको शिक्षक जसले विद्यार्थीहरूको मनमस्तिस्कलाई प्रज्वलित पारी अनुशासित, नैतिकवान , सत्मार्ग सिकाउँने, जो सहनसिल, धैर्य , न्यायिक, समानतावादी , सरल, शिष्ट, नम्र, परिश्रमी, दयालु मानवतावादी हुनुपर्छ  जसले गर्दा विद्यार्थीहरू आफैले अनुसरण गर्न सकून् ।

६. श्रमसित जोडिएको, समस्यासामाधानमुखी, रोजगारमुखी, श्रम प्रति श्रद्धा गर्ने , परिक्षामुखी मात्र नभई व्यवाहारमुखी, उत्पादनमुखी, अनुसन्धान र रचनात्मक कार्यमा प्रोत्साहान दिने खालको शिक्षा हुन पर्दछ ।

७. व्यक्तित्व तथा व्यवसायिकता विकास र सम्भावित अवसर बढावा गर्ने, आत्मनिर्भर , स्वाभिमानी, देशप्रेमी, भौगलिक , अर्थिक र भौतिक पक्षको अध्ययनको आधारमा युवाहरूलाई शिक्षा दिई आफ्नै देशमा अवसर पाउँन सक्ने खालको शिक्षा नीति हुनुपर्ने ।

८. सामाजिक मुल्य र मान्यता एवं नैतिकताको सवालमा आजभोलिका विद्यार्थीहरू कमजोर देखिन्छन् । अत्यन्तै व्यक्तिवादी चिन्तन, स्वार्थी हुनका साथै अमानवीय व्यवहार, असभ्य , छुद्र, असंयम, चरित्रहीन कृयाकलाप , क्रुर , निर्दयी स्वभाव केटाकेटिहरूमा देखिने भएका कारण परिवार, समाज, नेतृत्ववर्गको चिन्तन र विचारलाई परिवर्तन गरी नैतिकवान, चरित्रवान, भद्र , अनुशासित, दयालु, संयम, मेहेनती , निस्वार्थी, मानवीय चरित्र , सकरात्मक चिन्तन र सोँचको विकास गराउने खालको शिक्षा नीति हुन आवश्यक छ ।

९. शिक्षा ज्ञान तथा सीप सिकाउँने र सिक्ने, जन्म देखि मरण सम्म निरन्तर चलिरहने गतिशील, चेतनशील, परिवर्तणशील प्रकृया र राष्ट्रको उन्नती ,प्रगती, समृद्धी र दिगो राजनीतिक परिपाटीको मूल आधार शिक्षा नै भएकोले जनताको गुणस्तरीय जीवन शैली र असल चरित्र निर्माण गर्नको लागि साथै मुलुकको भविष्य र सम्भावनाहरू जनताको गुणस्तर र क्षमतामा भर पर्ने भएकोले सरकारले शिक्षामा सर्वोत्तम लगानी गर्नु पर्दछ । जुन देशमा शिक्षामा बढि लगानी हुन्छ त्यहाँ समृद्धि र विकास भएको पाइन्छ र गुणस्तरीय शिक्षाले मात्र विकासको आधार सृजना हुन्छ । गुणस्तरीय शिक्षाको लागि लगानीको आवश्यकता हुन्छ ।

१०. जीवन र जगतसँग जोडिएको शिक्षा , अर्थतन्त्रको गतिशिलता आत्मनिर्भरताले मुलुक समृद्ध र शक्तिशाली बनाई मानवीय जीवन र त्यसको क्षमता निर्माण र विकाश गर्दछ जसलाई राष्ट्रको पुँजी मानिन्छ । तसर्थ सरकारले शिक्षामा गम्भिरतापूर्वक सोँचेर गतिशील र परिणाममूखी योजना निर्माण र कार्यन्वयन गर्नुपर्ने हुन्छ ।

११. दिगो विकासको लागि मानवीय नैतिक मुल्यमा आधारित शिक्षा वातावणीय अवस्था र सामाजिक, आर्थिक पक्षको सन्तुलन, जीवन पर्यन्त सिकाई, सान्धर्भिक र उपयुक्त कार्यक्रम, स्थानीय आवश्यकता, अनुभव, ज्ञान र सीपलाई अन्तराष्ट्रिय प्रयत्न र प्रचलनका आधारमा परिणाममुखि बनाउने नागरिक समाजको व्यवस्थापकीय क्षमता बढाउँने, सम्बन्धित सबैको लागि निश्चित आचार संहिता बनाई मानवीय रूपमा सोँच्ने क्षमता सीपको उच्च रूपमा बिकास गर्ने शिक्षानीति हुन पर्दछ ।

१२. सीप र प्रविधीसँग एकाकार भई मानिसको आवश्यकता र जीवनपद्धत्तीसँग जोडिएको शिक्षानीतिले मात्र दिगो विकास ल्याउँछ । पुरानो परम्परावादी शैक्षिक संकार र यथास्थितीवादी शिक्षाले बदलिदो युगको आवश्यकता पुरा गर्न नसक्ने भएकोले क्षणिक फाइदा व्यक्तिगत आकांक्षा र स्वार्थ एवं व्यपारमूखी शिक्षा प्रणालीलाई निरुत्साहित गरी सीप र प्रविधीलाई जोड दिइएको शिक्षा प्रणालीले मात्र राष्ट्र निर्माण गर्न सक्छ ।

१३. विकासमुलक शिक्षा आजको आवश्यकता भएकोले समतामुलक समावेशी शिक्षा हुन आवश्यक छ । अपांगता वहिरा दृष्टिविहिन, वौद्धिक अपाङ्गता र लाटालाटीहरूको लागि विशेष शिक्षाको व्यव्स्था र कार्यन्वयन र शैक्षिक सुधार गरी सबैको पँहुचमा शिक्षा प्रणाली निर्माण गर्न सकेमा राष्ट्र विकशित समृद्ध र सम्पन्न हुन्छ ।

१४. व्यवहारिक, वैज्ञानिक र जनमुखी शिक्षाका साथै सबै तहको शिक्षा निःशुल्क शिक्षा सरकारले प्रदान गरेमा नेपाली जनता स्वतः योग्य दक्ष स्वावलम्भी र आत्मानिर्भर हुन्छ र राष्ट्रविकाशमा टेवा पुग्छ ।

अन्तमा नेपालमा शैक्षिक अवस्था जेजस्तो अवस्थामा रहेतापनि शैक्षिक उन्नयनका लगि केवल सरकारलाई मात्र दोश नदिई शिक्षासँग सरोकार राख्ने सबै शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, शिक्षाविद, योजनाकार, वुद्धिजिवीहरू सबै हातमा हात, काँधमा काँध थापेर निस्वार्थ रूपले एकजुट हुन आवश्यक छ । राम्रो कामको लागि सरकारको मुख मात्रै ताक्ने परम्परागत सोँच शैलीलाई त्याग्नु पर्छ ।

प्रतिनिधिमुलक फाइल फोटो | वेव

 

 

 

 

                             जनी कुमार राई

यो लेखकको निजि विचारमा आधारित लेख हो । लेखक राई विगत ४० वर्षदेखि शिक्षण सिकाई कार्यमा संलग्न व्यक्ति हुन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा