बिहीबार, १२ असार, २०७६ Thursday, 27 June, 2019

सोलुखुम्बुको सबै गाउँपालिका सडक सञ्जालमा जोडिदै 

चालु आर्थिक बर्षमा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ ।
तस्बीर भोजराज कार्की

सोलुखुम्बु । चालु आर्थिक बर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नम्बर १ बुक्सा सम्म चालु बर्षमा सडक पुर्‍याउने गाउँपालिकाले जनाएको छ । हाल सम्म सडक सञ्जालले नजोडिएको जिल्लाको आठ स्थानीय तह मध्ये एक मात्र गाउँपालिका खुम्बु पासाङल्हामु यस बर्ष देखी सडकले जोडिने भएको हो ।

अबको केही दिनमै खुम्बु साङल्हामु गाउँपालिकाको वडा नम्बर १ खरिखोलामा सडक पुग्ने गाउँपालिका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार अहिले माप्यदुधकोशी गाउँपालिका १ जुभिङको बुम्बुरी सम्म सडक पुगीसकेको छ भने खरिखोला पुग्न करिब ४ किलोमिटर बाँकी छ ।

सल्लेरी देखी बुम्बुरी सम्म सवारी साधान सञ्चालन भईसकेको प्रबक्ता शेर्पाले जानकारी दिए । उनका अनुसार माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्रायाक खोल्ने काम भईरहेको छ । ट्रायाक खोल्नको लागि दुई गाउँपालिकाले रु.३९–३९ लाख लगानी गर्ने सहमतीपत्रनै तयार गरेर काम अघि बढाइएको छ । तर उक्त रकम अपुग भए पुन खर्च विवरण अनुसार दुवैगाउँपालिकाले बाराबारी लगानी गर्ने सहमती रहेको माप्यदुधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिए । बिकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडी बढ्ने सहमती भएको उनको भनाई छ ।

सरदमुकाम सल्लेरी देखी ३९ किलोमिटरमा रहेको माप्यदुधकोशीको वडा नम्बर २ अधेरी सम्म यसअघिनै सडक पुगीसेको थियो भने वडा नम्बर १ हुदै खुम्बुपासाङल्हामुको वडा नम्बर १ को बुक्सा सम्म ४९ किलोमिटर सडक यस बर्ष निर्माण गरिने छ । लुक्ला सम्मको बाँकी करिब ३९ किलोमिटर सडक आगामी आर्थिक बर्षमा निर्माण गरिने गाउँपालिका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

लुक्ला भन्दा माथि सडक नलैजान पर्यटन व्यवसायीको सुझाव 

पर्यटकिय हिसाबले देशमै चर्चित एभरेष्ट रिजनमा घुम्ने पर्यटकलाई थप आकर्षित गर्नको लागि खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्र सहित लुक्ला भन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन् । सडक मार्गलाई लुक्ला भन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाई स्प्रीट ट्रेक्स एण्ड एक्सपिडिसन नेपाल प्रा.लि.का सञ्चालक शिबबहादुर बस्नेतले बताए ।

उच्च हिमाली क्षेत्रमा जाँदा अधिकांसलाई स्वास्थ्य समस्या समेत देखिने हुँदा एकैपटक हाइटमा जान उपयुक्त नहुने यस क्षेत्रमा आबद्ध व्यक्तिहरुको भनाई छ । २०५५ साल देखी पर्यटन क्षेत्रमा आबद्ध भई आईसफल डक्टरको समेत भुमिका निर्वाह गरिसकेका याङ्दा शेर्पाले लुक्ला देखी पदमार्ग सुरु हुँदा हाईअल्टिच्युटको हिसाबले उपयुक्त हुने बताउँछन् । एक्कासी उच्च स्थानमा पुग्दा स्वास्थ्य समस्या देखिन्छ । “काठमान्डौंको तापक्रम र लुक्लाकै तापक्रम धेरै फरक पर्ने हुँदा एक्कासी उच्च क्षेत्रमा पुग्नु राम्रो होईन ।” शेर्पाले भने, “हामी सगरमाथा जाने बाटो बनाउने भएपनि लुक्ला बाट एक्कासी सगरमाथा आधारशिविर हेलिकप्टरमा पुग्यो भने टाउँको दुख्ने लगाएतको समस्या देखा पर्छ ।”

त्याहाँको मौसम र पर्यटकको स्वास्थ्यलाई ध्यान दिदा लुक्ला भन्दा माथि सवारी साधनमा पुग्नु उपयुक्त नहुने आरोहीको भनाई छ । हिमश्रृङ्खलाको दृश्यअवलोकनका लागि समेत लुक्ला देखी पैदल यात्रा उपयुक्त हुने हुँदा सडक निर्माणमा सोही अनुसार ध्यान दिन आवश्यक रहेको सगरमाथा आरोही किताब सिं तामङको भनाई छ । सगरमाथा क्षेत्रको शाख जोगाउनको लागि राज्यले ध्यान दिन’पर्ने आरोही  तामाङले बताए ।

खुम्बुको पर्यटनमा सडकमार्गको सम्बन्ध 

अधिकांस बाह्य पर्यटकको रोजाई सोलुखुम्बुको खुम्बु क्षेत्र पर्छ । जसको मुख्य कारण हो, विश्वको सर्वोच्च शिखर सगरमाथा सहित दर्जनौ हिमाल एवम् हिमश्रङ्खला सहितको यहाँको प्राकृतिक सम्पदा ।

बर्षको दुई सिजनमा विभिन्न राष्ट्रका हजारौ नागरिकले यस क्षेत्रको भ्रमण गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, नजिकैबाट सगरमाथा सहित यहाँको अन्य मनोरम वातावरणको दृश्य अवलोकनले अधिकांशको ध्यान तान्ने गरेको छ । बिशेष गरि स्प्रीङ र वीनटर सिजनमा पर्यटकको भिड लाग्ने यस क्षेत्रमा मौसम राम्रो हुँदा बाह्रै महिना पर्यटकको चहलपहल हुनेगरेको छ ।

खुम्बु क्षेत्रका लागि काठमान्डौं देखी हप्ता दिनको पैदल यात्रा या तेञ्जिङ हिलारी बिमानस्थल दुई वटा माध्यम रहेको छ । अधिकांश पर्यटकको समय छोटो, खुम्बुको भ्रमणका लागि समय केही लामो हुँदा प्रभावकारी हुने हुँदा हवाई मार्ग अधिकांशको रोजाई पर्छ । तर मौसम प्रतिकुल हुँदा हवाई सेवा प्रभावकारी हुदैन ।

जतिमात्रमा पर्यटक आउनुपर्ने हो त्यती आउन नसक्नुको मुख्य कारण तत्काल हवाई मार्गको बिकल्प खुम्बु सम्म सडक नपुग्नुनै मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा समेत रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक सञ्जाल पुगे संगै यहाँ आउने पर्यटकको संख्यामा दोब्बरले वृद्धि हुने पर्यटन व्यवसायी हिमालयन जोइ एडभेन्चर प्रा.लिका प्रमुख चोलेन्द्र कार्की बताउँछन् । “हवाई टिकेट महङ्गो हुनको साथै एक दिन उडान रद्ध भयो भने अन्य बिकल्प छैन ।” प्रमुख कार्कीले भने, “लुक्ला सम्म सडक पुग्यो भने जस्तोस’कै पर्यटक त्याहाँ जानसक्छन् .”

विदेशी पर्यटकको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल देखी लुक्लाको दुईतर्फ भाडा ३ सय ६० अमेरिकन डलर रहेको छ । हिमालयन जोइ एडभेन्चर प्रा.लिका प्रमुख चोलेन्द्र कार्कीले भने, “एकातिर सडक मार्गमा करिब ६० डलरले आउनजान पुग्छ, भने अर्को तीर फिक्स यात्रा भयो ।”

हवाइ उडान सहित खुम्बु भ्रमणमा आउने पर्यटकलाई उडान रद्ध हुँदा कुनै बिकल्प नभएपछि पदप्रदर्शकलाई समेत समस्या हुने गरेको छ । “बिमानस्थलको बिकल्पमा केही पर्यटकले हेलिकप्टर प्रयोग गर्ने भएपनि अति महङ्गो हुने हुँदा पर्यटकलाई समस्या हुन्थ्यो ।” पदप्रदर्शक एवम् आरोही किताब सिं तामाङले भने, “मौसम प्रतिकुल हुँदा हामी पदप्रदर्शकलाई तनाव, विदेशीको टाईम टु टाईम हुन्छ ।”

पटकपटक उडान रद्ध हुँदा काठमान्डौंबाट खुम्बुका लागि आउने पर्यटकले भ्रमण क्षेत्र परिवर्तन गर्नेगरेका छन् । पर्यटन व्यवसायी हाई स्प्रीट ट्रेकस एण्ड एक्सपिडिसन नेपाल प्रा.लि.का सञ्चालक शिबबहादुर बस्नेतका अनुसार पर्यटकको योजना अनुसार उडान नहुँदा ट्रेकिङ कम्पनीलाई निक्कै गाह्रो हुने गरेको छ । सडक मार्ग सञ्चालन हुँदा पर्यटक, पथप्रदर्शक र ट्रेकिङ कम्पनीलाई समेत सहज हुने बस्नेतको भनाई छ ।

खुम्बु आउने पर्यटकले अबको एक बर्ष भित्र मौसमकै कारण कुनैपनि समस्या झेल्नु नपर्ने खुम्बुपासाङल्हामु गाउँपालिका उप–प्रमुख टासील्हामु शेर्पा बताउँछिन् । “यो बर्ष बुक्सा सम्म सडक पुग्छ ।” उप–प्रमुख शेर्पाले भनिन्, “अर्को बर्ष हामी गाउँपालिका केन्द्र चौरीखर्क पुर्‍याउछौ ।”

बुक्सा सम्म निर्वाध रुपमा यातायात सञ्चालन भएमा पर्यटकले लुक्ला देखी एक क्याम्प थप गरि बुक्सा बस्ने र अर्को दिन बिहान जीप मार्फत सिधै काठमान्डौं पुग्न सक्छन् । तर ट्रायाक खोलिएको सडकको गुणस्तर भने मजबुद्ध हुनुपर्छ । जसको लागि खुम्बुपासाङल्हामु गाउँपालिका, माप्यदुधकोशी र सोलुदुधकुण्ड नगरपालिकाले संयुक्त रुपमा काम गर्नुपर्ने सर्वसाधरणको सुझाव छ ।

लुक्ला देखी सगरमाथा आधारशिविर पुग्न ७ क्याम्प

लुक्ला देखी सगरमाथा आधारशिविर पुग्न पर्यटकको लागि सात क्याम्प हो । लुक्ला बाट सुरु भएको ट्रेकिङ फाग्दीङ, नाम्चे, तेङ्बोचे, दिङबुचे वा फेरुचे, लुबुचे, गोरप्सेप देखी बेशक्याम्प पुग्छ ।

सगरमाथा आधार विशिवर बाट अधिकांश पर्यटक फर्कन्छन् भने केही आरोही सगरमाथाको शिखर तर्फ लाग्छन् ।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा